काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले अब नेपाल नफर्किने घोषणा गरेका छन् ।

साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण हुने उनको घोषणा छ । उनले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका हुन् ।

आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । नेपालले बुधबार भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् । ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’

माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो संस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।

खेलको ८२औं टिनिङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एरियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गरे ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । अब आज राति हुने माल्दिभ्स र भारतबीच हुने खेलको विजेतासँग नेपालले १६ अक्टोबर राति ०८ः४५ बजे खेल्नेछ ।

 

सम्बन्धित खबरहरु