काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरी आम नेपाली जस्तै आज अत्याधिक खुशी छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा राष्ट्रियतासँग जोडिन्छ तर उनका लागि आफ्नो राष्ट्र जिते भन्दा कम छैन । किनकी उनले नेपाली टोलीलाई अब्बल बनाउन रगत पसिना सिंचेका छन् ।

नेपालमा उनको आगमनसँगै फुटबल खेलले आकाश जमिनको अन्तर पार गर्यो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।

पहिलो संस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । तर यो पटक नेपाल ७ पटकको विजेता भारतलाई समेत पराजित गर्दै उपाधि उचाल्ने दावेदार बनेको छ ।

यो नेपाली फुटबल इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । यही ऐतिहासिक दिनमा नेपालका लागि नमिठो हुनेगरी प्रशिक्षक अब्दुल्लाह अलुताइरीले दुखेसो पोखेका छन् ।

उनको एक घोषणाले नेपालमा खेलभित्रको राजनीतले कति असर गरेको छ भन्ने विश्व समुदायले नै सुन्यो । अन्तर्राष्ट्रिय खेलको उपलब्धी प्राप्तिको सुखद क्षणमा उनले अब नेपाल कहिलै नफर्किने घोषणा गरेका छन् ।

साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण हुने उनको घोषणा छ । उनले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका हुन् ।

आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताउँदा नेपाली फुटबल टोली र विश्वका फुटबल प्रेमीहरु स्तब्ध बनेका छन् ।

नेपालले बुधबार भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् । ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’ उनले नेपालका कर्मचारी र जिम्मेवार पदाधिकारीहरुले प्रशिक्षकको रुपमा नहेरेर नोकरको रुपमा हेरेको गुनासो गरेका छन् ।

केही महिना अघि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवाद भएको थियो । एकपक्षीय रुपमा एसियाली फुटबल र नेपाली समर्थकमाझ आफ्नो छवी धुमिल्याउने प्रयासमा वरिष्ठ उपाध्यक्ष नेम्वाङको हात रहेको प्रशिक्षक अलमुताइरीको आरोपपछि विवाद बढेको थियो ।

‘एक व्यावसायिक फुटबल प्रशिक्षकको नाताले मेरो पेशामै प्रश्न उठ्ने काम एन्फाले गरिरहेको छ भन्दै उनले यसअघिपनि सामाजिक सञ्जालमा राजीनामाको घोषणा गरेका थिए । त्यसपछि तत्काल प्रशिक्षणमा सहभागी नहुन एन्फाले उनलाई निर्देशन नै दियो ।

विवाद समाधानका लागि बनेको उच्चस्तरीय छानवीन समितिले समेत प्रशिक्षक अलमुताइरीले बानी सुधार गर्नुपर्छ भन्दै निर्देशन दिएपछि उनको मन थप दुखेको देखिन्छ । उनले आफू प्रशिक्षक भएका कारण खेलाडीलाई विदा दिने, प्रशिक्षण गर्ने, कुन खेलाडीलाई कहाँ मौका दिन अधिकार आफ्नो हुनुपर्ने अडान राख्दै आएका छन् ।

यो कार्यमा एन्फाले हस्तक्षप गर्दै आएको छ । यही विषयमा उनले एन्फाले फिफाको कोड अफ एथिक्स र एएफसीको कोड अफ कन्डक्ट नेपालमा उल्लङ्घन हुने गरेको गुनासो गरेका छन् । यसले ‘एक व्यावसायिक फुटबल प्रशिक्षकको नाताले मेरो पेशामै प्रश्न उठेको छ भन्दै चित्त दुखाएका छन् ।

अलुताइरी १३ फेब्रअरी १९७४ मा कुबेतमा जन्मिएका हुन् । उनले बाल्यकालदेखि नै फुटबललाई व्यवसायीक पेसा बनाएका थिए । विभिन्न क्लबमा रहेर उनले फुटबल खेलेका छन् । उनी अब्बल दर्जाका खेलाडी हुन् ।

सम्बन्धित खबरहरु