माले । किरण चेम्जोङ नेपाली फुटबल इतिहासका सबैभन्दा सफल कप्तान सावित भए । उनले आफ्नो कप्तानीमा देशका निम्ति इतिहास रचे ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । यो पटक उनले आफ्नो कप्तानीमा देशलाई फाइनलमा पुर्याए ।

पहिलो संस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । तर यो पटक नेपाल ७ पटकको विजेता भारतलाई समेत पराजित गर्दै उपाधि उचाल्ने दावेदार टीम नेपाल बनेको छ । यसको श्रेय किरण चेम्जोङलाईपनि जान्छ ।

आज बंगलादेशसँग १–१ गोलको बराबरी खेलेर देशलाई फाइनलमा पुर्याएपछि उनको खुशीले सिमा नाध्यो । खेल क्षेत्रका नेतृत्वकर्ता त्यहाँ केही थिएनन् । उनले आफ्नो आसपासमा रहेका खेलाडीहरु नै च्याप्प छातीमा च्यापे र देशका लागि खुशीको आँशु बगाए ।

आठौँ साफमा नेपाल र माल्दिभ्सबीच भएको सेमीफाइनलमा तत्कालिन युवराज दीपेन्द्रबिर बिक्रम शाह नै मैदानमै उत्रेर खुशियाली मनाएका थिए। दीपेन्द्रले नेपाली टिमको विजयका लागि खेलाडीहरुलाई ‘चियर’ मात्र गरेनन् प्रशिक्षक स्टीफन कन्टेन्स्ट्टाइनलाई अँगालो समेत हाले।

दीपेन्द्रबाट त्यस्तो प्रतिक्रिया होला भनेर शायदै कसैले सोचेका थिए होला । साफको तयारीदेखि खेल अवधिभर दीपेन्द्रको अधिकांश समय साफ परिसरमै बित्ने गर्दथ्यो।

तर यो पटक भने नेपालले फाइनलका लागि खेलिरहँदा नेपाल खेलकुद मन्त्री को हुने भन्ने तय भएकै थिएन । अमेरिका लगायतका विकसित देश घुम्न भने सरकारले सुरु मा नै परराष्ट्रमन्त्री नारायण खड्का बनायो । सपथ लिएको भोलिपल्ट नै विदेश हानिए ।

तर यो अन्तर्राष्ट्रिय छवि बनाउने खेलका लागि भने देशको शीर्ष तहको व्यक्ति त्यहाँ पुगेनन् । अझ अखिल नेपाल फटुबल संघ (एन्फा) त प्रशितक अब्दुल्लाह अलुताइरीसँग जुहारी खेलेर बसेको छ । एन्फाका पदाधिकारीहरु प्रशिक्षकको उछितो काढेर भत्ता पचाउँदै बसेको छ ।

फोहोरी राजनीतिक खेलकै कारण नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले अब नेपाल नफर्किने घोषणा गरेका छन् ।

साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण हुने उनको घोषणा छ । उनले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका हुन् ।

आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । नेपालले बुधबार भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् । ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’ उनले आकाशतर्फ फर्किएर आँशु नै खसालेका थिए । उनको यो घोषणाले नेपाल स्तब्ध भएको छ । राजनीतिक दाउपेचमा आफ्नो स्वार्थ कुम्ल्याउनेहरु भने खुशी भएका होलान् ।

सम्बन्धित खबरहरु