काठमाडौ । साफ च्याम्पियनसिप फुटबल २०२१ प्रतियोगितामा ७ पटकको विजेता भारत फाइनलमा पुगेको छ । आयोजक माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनलमा पुगेको हो ।

राजधानी मालेमा जारी प्रतियोगितामा भारतका कप्तान सुनिल क्षेत्री चम्किएका थिए । उनले व्यक्तिगत दुई गोल गरे । भारत र माल्दिभ्सले राति ९ः४५ बजेदेखि प्रतिस्पर्धा भएको थियो ।

पहिलो हाफको खेलमा ३३ मिनेटमा नै भारतका मनवीर सिंहले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

तर केही मिनेटपनि टिक्न नसक्दै भारतका खेलाडीले फल गरे र माल्दिभ्सलाई पेनाल्टीको अवशर मिल्यो । पाएको पेनाल्टी अवशरलाई माल्दिभ्सका अली अशफाकीले गोल गरे र टीमलाई बराबरीमा ल्याएका थिए ।

पहिलो स्थानमा रहेको माल्दिभ्सलाई बराबरी मात्र भयो भनेपनि फाइनलमा जाने ढोका खुल्ने थियो । तर माल्दिभ्सका लागि भारत बाधक बन्यो ।

माल्दिभ्स शीर्ष स्थानमा थियो भने भारत तेस्रो स्थानमा थियो । भारतले नेपालसँग जित र बंगलादेश र श्रीलंकासँग बराबरी खेलेर ५ अंक जोडेको थियो । यो जितसँगै भारतले ८ अंक जोडेको छ ।

माल्दिभ्सले भने नेपालसँग हार र बंगलादेश, श्रीलंकासँग जित हात पारेर ६ अंक जोड्दै शीर्ष स्थानमा थियो । यसैले माल्दिभ्सले बराबरी खेलेमात्रपनि फाइनलमा जाने थियो ।

माल्दिभ्सले जितेमा वा बराबर मात्र खेलेमा ७ पटकको विजेता भारतलाई पाखा लगाउँदै नेपालसँग फाइनलमा भिड्ने माल्दिभ्सलाई मौका थियो । तर मौका चुकायो । अब फाइनलमा नेपाल र भारतबीच नै प्रतिस्पर्धा हुनेछ । आइतबार यो खेल हुनेछ ।

 

सम्बन्धित खबरहरु