काठमाडौं । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।

अधिकारकर्मी रुबी प्रहरी हिरासतमा आमरण अनशन बस्नुभएको थियो । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेर माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार उहाँलाई प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज पुर्याएको थियो ।

पक्राउ सम्बन्धमा प्रहरीले अदालतलाई समेत ढाँटेर रुबी कहाँ रहेको थाहा नभएको जवाफ पठाएको थियो ।

तर रुबी नेपालगन्ज प्रहरीको हिरासतमा रहेको सञ्चारमाध्यमले फोटो सहितका खबर छापेका थिए । उहाँलाई बहुविवाहको झुट्टो मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी गरेको थियो ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेर धर्ना शुरु गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उहाँले आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको आरोप लगाउनुभएको थियो ।

बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको उहाँको दाबी थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने उहाँविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएकाले कारबाही अघि बढाइएको जनाएको थियो । रुबीले शुक्रबारदेखि केही खानुभएको थिएन ।

श्रीमानसँग २०७६ असोज ८ मा इस्लाम धर्मअनुसार तलाक भएको र त्यसको १० दिनपछि अदालतबाट सम्बन्ध विच्छेद प्रमाणीकरणसमेत गरेको उहाँले दाबी गर्नुभयो  ।

प्रहरीले भने उहाँविरुद्धको मुद्दाका विषयमा प्रस्ट पारेको छैन । उहाँले सम्बन्ध विच्छेद भइसकेका कारण बहुविवाहको मुद्धा नै हुननसक्ने दावी गर्नुभएको छ ।

अधिकारका लागि लड्दा प्रहरीले आफ्नो प्रशासनले गरिरहेको अनुशन्धान प्रभावित गर्नेगरी कार्य गरेका कारण प्रतिशोध लिएको देखिन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु