काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गर्नुभयो ।

पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप समेत लगाउनु भयो ।

साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो ।

पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।

नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

 

सम्बन्धित खबरहरु