काठमाडौ । सुन्दा अनौठो लाग्न सक्छ । तर यो सत्य हो । पाटनको सुबहालस्थित जय मनोहर महाविहार र त्यसैको देब्रेपट्टि महांकाल मन्दिर छ ।

दशैँको नवमीको रात यहाँ जिउदो मानिसको मासु चढाउँनै पर्छ । आफ्नो मासु चढाउन भक्तजनहरूको घुईचो लाग्छ । आफ्नै शरीरको केही अंश काटेर मानिसहरु यो मन्दिरलाई चढाउँछन्।

पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने सुन्दा धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला । यस्तो पनि पूजा हुन्छ कहीँ प्रश्न उठेको होला । तर हुन्छ ।

यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको सत्य समाचार हो, जहाँ हरेक दशैँमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्।

ललितपुरको मंगलबजार दरबार स्क्वायरबाट ग्वार्कोतर्फ बढ्दा लगभग पाँच सय मिटर दुरीमा सुन्धारा (लूँ हिति) आउँछ। त्यहाँ पुगेर कुनै आसपासका मानिसलाई सोध्यो भने सुबहाल जाने बाटो देखाइदिन्छन्।

सुबहालमा स–साना चैत्यहरू देखिन्छन्। तिनै चैत्यबाट दाहिनेतिर एउटा पुरानो घर छ, जहाँ काठको ढोकामाथि काठकै कलात्मक तोरण टाँगिएको छ। माथिल्लो तल्लामा साइनबोर्ड झुन्डिएको देखिन्छ, जसमा लेखिएको छ– श्री जय मनोहर महाविहार, सौबहाः (सुबहाः), ललितपुर महानगरपालिका, वडा नम्बर ८, यलः।

यो पूजा महानवमीको राति ७ बजेतिर सुरू हुन्छ। दुई गुभाजू र छ जना आजु (सुबहालकै सबभन्दा जेठा व्यक्ति) ले पूजाविधि सम्पन्न गर्छन्। पूजा व्यवस्थापन उमेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले चर्या गीत गाउँछन्। उनीहरू डमडम डमरू बजाउँछन्। छनछन ताः छन्काउँछन्।

यही डमडम र छनछन तालबीच गुभाजूहरूले टङटङ घन्टी बजाउँदै पूजा सुरू गर्छन्। पूजाकक्षमै मकलमा आगो बालेर होम गरिन्छ। जसै गुभाजूले ‘ला खायेगू’ सुरू गर्न इसारा गर्छन्, भक्तजनहरू पालैपालो पूजाकक्ष छिर्छन्।

यो संस्कार गर्दा नाइटोभन्दा तल्लो भागको मासु चढाउन पाइँदैन। नाइटोमाथि जुन भागको चढाउने हो, त्यहाँ सियोले घोचेर छालाको मसिनो पत्र उप्काइन्छ। त्यही पत्र धारिलो ब्लेडले चट्ट काटेर यज्ञवेदीमा चढाइन्छ।

यसरी छाला काटेर चढाउँदा शरीरको दुखाइ निको हुन्छ भन्ने जनविश्वास रहेछ। त्यही भएर जुन भाग दुखेको हो, त्यहीँको छाला काटेर चढाउने चलन रहेको छ ।

 

सम्बन्धित खबरहरु