कैलाली । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका आफ्नै भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको जानकारी दिनुभएको छ ।

उहाँले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको जानकारी दिनुभयो ।

‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भन्नुभयो, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’

घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो । त्यहाँ प्रहरी पुगेको छ । चोरी भएको हो भन्ने देखिएको छ अधिकारीले पुष्टी गर्नुभयो ।

घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीको भनाई छ ।

सम्बन्धित खबरहरु