काठमाडौ । भोलि नेपालका लागि एक ऐतिहासिक दिन हुने अधिकांशले आँकलन गरेका छन् । तर फाइनल हो यही हुन्छ भनेर अहिले नै भन्न सकिन्न । तर अवस्था आँकलन भने गर्न सकिन्छ ।

फाइनलसम्म पुगेको टोली दुबै कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।

भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।

शनिवार हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुने पक्का छ ।

नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ। जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि बन्नेछ ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । यो पटक फाइनलमा मात्र पुगेको छैन । अघिल्ला खेलले नेपाल उपाधिको दाबेदार हो भन्ने ठाउँमा उभिएको छ ।

व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ। यो प्रतियोगितामा नेपालले भारत बराबरीमा रोकिएका दुई टोली श्रीलंकलाई हरायो र बंगलादेशसँग बराबरी खेल्यो ।

सबैभन्दा कमजोर टीम सावित भएको श्रीलंकलाई समेत गोल गर्न नसकेका कारण भारत नेपालभन्दा कमजोर छ भन्ने देखिन्छ । माल्दिभ्सलाई भने नेपाललेपनि हराएको हो भने भारतलेपनि हराएको हो । नेपाल भारतसँग बाहेक अरुसँग पराजित भएको छैन । यसैले फाइनलमा नेपालले जित्ने आशा गरिन्छ ।

निश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ। त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।

उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।

नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।

एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ।

फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन। भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।

नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिँदा गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १–१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २–१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।

यी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्। निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्। जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।

ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।

नेपालसँग के छ त ?
जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ। माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।

हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।

फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।

रोचक कुरा के हो भने फाइनलमा भारतीय मुख्य प्रशिक्षक इगोर हुनेछैनन्। माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।

पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ।

भारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतिजा भारतकै पक्षमा गएका छन्। ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको। यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो ।

जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ। नेपालले पाएका ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो। जुन नेपालमा सन् २०१३ मा भएको थियो।

स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २–१ ले विजयी भएको थियो। यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ। नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग) मा हो।

निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो। त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए।

नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो। नेपाल ३–० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए। यद्यपी सो प्रतियोगितामा भारतले प्रमुख खेलाडीहरू समावेश गरेको थिएन। बीबीसीको सहयोगमा

सम्बन्धित खबरहरु