काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदैछ ।

जति समय नजिक छ त्यति नै हरेक नेपालीको ढुकढुक बढिरहेको छ । किनकी यो अहिलेसम्मकै इतिहासमा नभएको उपलब्धी नेपालले हात पारेको हो ।

नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेर इतिहास बनाएको छ भने अब उपाधि जितेर नयाँ इतिहास बनाउने सुनौलो अवसर पनि पाएको छ ।

यस साफ च्याम्पियनसिपमा सुरुवाती दुई खेल माल्दिभ्स र श्रीलंकाविरुद्ध जित निकालेर शानदार सुरुवात गरेको नेपाल लिग चरणमा भारतसँग १–० गोल अन्तरले पराजित र बंगलादेशसँग बराबरी खेलेर फाइनलमा प्रवेश गरेको थियो ।

लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध १–१ को बराबरी खेलेपछि साफ च्याम्पियनसिपको २८ वर्ष लामो इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

भारत श्रीलंका र बंगलादेशसँग बराबरी र नेपाल र माल्दिभ्ससँग जीत हात पारेर फाइनलमा आएको हो । अहिलेको स्कोर हेर्दा भारत बलियो छ ।

तर भारत बराबरीमा रोकिएका टोलीसँग नेपालले जीत निकालेका कारण नेपाल बलियो छ भन्ने आँकलन निकाल्न सकिन्छ । छनोट चरणमापनि नेपाल र भारतबीच भिडन्त भएको थियो ।

बडो कठिनपूर्वक अन्तिम समयमा एक गोल गरेर भारतले नेपाललाई जितेको थियो । यसैले नेपालले यो पटक जसरीपनि खेल जित्नेगरी मैदानमा कडा परिश्रम गर्ने पक्का छ ।

 

सम्बन्धित खबरहरु