काठमाडौँ । नेपालभित्र मात्र होइन र विश्वभर रहेका नेपाली भाषीहरूमाझ दशैँको टीकाको दिन रौनक छायो ।

दशैँ मिठो खाने राम्रो लगाउने मात्र होइन‚ छुटिएका परिवार भेटिने एक अवसर पनि बनेको छ । कोरोनालाई समेत बेवास्ता गर्दै अधिकांश नेपाली खुसी भएर पर्व रमाइरहेका छन् ।

तर अभिनेता राजेश हमाललाई भने दशैँ कहिल्यै दशैँजस्तो बन्न सकेन । पुरै देश पहेँलो जमरा र रातो टिकामा सजिएको बेला राजेशको निधार भने खाली हुने गर्छ ।

उहाँकी आमा रेणु हमालले दशैँको टिकाकै दिन संसार छाडेका कारण राजेशको निधार खाली हुने गरेको छ । आमाको निधनपछि उहाँ कहिलै टीका लगाउँनुहुन्न ।

पाकिस्तानी राजदूत रहेका बेला हमालका बुबाको पाकिस्तानमै हृदयाघात भएर निधन भएको थियो । प्रेम विवाह गर्नुभएकी रेणुलाई श्रीमानको अचानक भएको मृत्यु स्वीकार्न सहज भएन ।

उहाँ बिस्तारै चुरोटको लतमा पर्नुभयो र निरन्तर चुरोट पिउन थाल्नुभयो । तनावकै कारण उहाँ एकान्त मन पराउने बन्नुभयो । छोरा राजेशले किन यस्तो गर्नुभएको ? भन्दै सोधखोज र खुसी रहन आग्रह त गरिरहनुभयो ।

तर उहाँ र उहाँका दिदीहरूले पनि आमाको दुःखको कारण खोज्न र समाधान गर्नतर्फ शायद पर्याप्त समय दिन सक्नुभएन होला, अन्ततः अधिक चुरोट सेवन र एक्लोपनले रेणुको मृत्यु भयो ।

विजया दशमी अत्यन्त शुभ दिन भएकाले बिहानमा श्राद्ध गरेर दिउँसो टिका ग्रहण गर्न मिल्ने भएपनि राजेश भने त्यसो गर्न सक्नुहुन्न । उहाँ दशमीमा आमाको श्राद्ध गर्नुहुन्छ, उहाँलाई सम्झिनुहुन्छ आमासँगको मिठा यादहरू स्मरण गर्नुहुन्छ ।

आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुन्छ । अनि भोलिपल्ट‚ अर्थात् एकादशीमा मात्रै उहाँले टीका जमरा लगाउँनुहुन्छ । त्यसैले राजेशको आज दशैँ बन्ने गर्छ ।

आमालाई डिप्रेसन रहेछ भनेर राजेशले आमाको मृत्युको धेरैपछि मात्र चाल पाउनुभयो । उहाँ अँध्यारोमा रमाउँनुहुन्थ्यो । एक्लै झोक्राएर बस्नुहुन्थ्यो ।

केही कुरामा पनि खुसी मिल्दैन थियो । हरियो रङ्ग देख्दा उहाँ भिन्न व्यवहार गर्नुहुन्थ्यो । यी सबै लक्षण देखिरहनुभएका राजेश र परिवारका अन्य सदस्यलाई यो डिप्रेसन हो भन्ने थाहै भएन ।

उहाँहरूले त आमा निराश भएको मात्रै देखिरहे र निराश नहुन आग्रह गरिरहे । आमाको निधनपछि लक्षण विचार गर्दा आमा डिप्रेसनसँग जुधेको राजेशले चाल पाउनुभयो ।

राजेशले मानसिक रोगका कारण आमा गुमाउनुभयो । अनि बल्ल उहाँलाई महसुस भयो‚ चलचित्रको पर्दामा मानिसक रोगीलाई देखाउने प्रस्तुत गर्ने तरिका गलत भइरहेको छ भनेर ।

अधिकांश नेपाली चलचित्रमा मानसिक समस्यासँग जुधिरहेकाहरूलाई झुत्रे कपडा लगाएको, फोहरी भएको, बालबालिकाले जिस्क्याएको, लखेटिरहेको, कुकुरले समेत खेदाएको जस्ता दृश्यहरू देखाइन्छ ।

‘यसले मानसिक रोगीमा पारेको असरबारे हामी बेखबर रहन्छौ । यो हामी मानसिक रोगीको चरित्र चलचित्र देखाउने प्रक्रियामा गलत गरिरहेका छौँ‚’ राजेश अहिले भन्नुहुन्छ ।

 

सम्बन्धित खबरहरु