कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ज्यान लिइएको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेर बयान लिँदा खुलेको घटनाले प्रहरी नै चकित बनेको छ ।

रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको ज्यान लिइएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।

बयान अनुसार उनले त्यो अवस्था श्रीमती र छिमेकी युवक देखिएपछि उनीहरुमाथी खनिएका थिए ।

त्यही बेला बिष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटीमा दवाव दिइ ज्यान लिइएको र लाश बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउपछिको बयानमा उनीहरुको घटनाको अरु कारण नभएको आफूहरुको कार्य देखेर आवेशमा आएका रमेश चौधरी श्रीमती र युवकसँग खनिएको जसको प्रतिकार स्वरुप गरिएको कर्मबाट उनको मृत्यु भएको खुलाइएको छ ।

सम्बन्धित खबरहरु