काठमाडौ । सर्पको टोकाइकै उपचार गर्ने संसारभर चम्किएका भाईरल झाँक्रीको २५ बर्षकै उमेरमा सर्पकै टोकाइबाट निधन भएको छ ।

ताप्लेजुङमा सर्पको टोकाइबाट उनको निधन भएको हो । निधन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् । उनी झाँक्री विद्याले परिचित थिए ।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए ।

अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

तराईका जिल्लाहरूमा सर्पदंशका बढि घटना भएतापनि पहाडि जिल्लाहरूमा पनि छिटफुटको रुपमा यस्ता घट्ना घट्ने गर्दछन् ।

सर्पको टोकाइबाट मृत्यु
गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले विवरण राख्न थालेको २०६८ साल वैशाखयताको करिब १० वर्षको अवधिमा सर्पदंशका १०६ वटा घटना भएको विवरण राखेको छ।

त्यसमध्ये ६० जनाको सर्पको टोकाइकै कारण निधन भएको केन्द्रको विवरणमा देखिन्छ।

सर्पदंशबाट ४९ जना घाइते भएका छन् भने १०६ परिवार प्रभावित भएको केन्द्रले जनाएको छ। तर जानकारहरूका अनुसार यो सङ्ख्या एकदमै न्यून हो।

किनभने कतिपय घटनाहरू रिपोर्ट नभएका पनि हुनसक्छन्। नेपालमा हालसम्म फेला परेका ८१ प्रजातिका सर्प मध्ये १८ प्रजातिका सर्प विषालु छन्।

गोमन, करेत, मुगा सर्प र रुसी भाइपर चार प्रकृतिका सर्पहरू धेरै विषालु हुन्छन्। विश्व स्वास्थ्य सङ्गठनले पनि सर्पदंशलाई “स्वास्थ्य प्राथमिकता” मा राखेको छ।

उसका अनुसार विश्वमा प्रत्येक वर्ष ८१,००० देखि १,३८,००० जनासम्मको ज्यान सर्पले टोकेका कारण हुने गरेको छ। त्यसको तीनगुना मानिस जोगिए पनि उनीहरूमा शारीरिक समस्या र अपाङ्गता हुने गरेको छ।

 

सम्बन्धित खबरहरु