काठमाडौ । सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।

पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यो पटक भने फाइनलमा पुगेर इतिहास रचेको थियो ।

नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो।

निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो। तर यो पटक भने भारतसँग पराजित हुन पुग्यो । फाइनल नै जितेर इतिहास रच्ने अपेक्षा गरिएको थियो ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

साफमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीहरूलाई प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको छ, मन्त्री कार्कीले भन्नुभयो । उपविजेता बनेको नेपालले २५ हजार डलर त पुरस्कार नै जितेको छ ।

सम्बन्धित खबरहरु