पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले तत्कालिन पार्टी अध्यक्ष केपी शर्मा ओलीको अझै याद आउने बताउनुभएको छ ।

उहाँले काम गर्न नजान्दा एमाले समेत फुटेको झाँक्रीको गुनासो छ । उहाँले भन्नुभयो ओलीले जस्तो जनताको पक्षमा काम गर्ने मौका कसैले पाएका थिएनन् । ओलीले समन्वय गर्न नसकेर असफल भएको झाँक्रीको दावी छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताउनुभयो ।

‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो ।

त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो’ उहाँले भन्नुभयो, ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको उहाँको भनाइ थियो । ओलीतर्फ इंकित गर्दै उहाँले अगाडि भन्नुभयो, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

केपी ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेको झाँक्रीको आरोप छ । उहाँले अहिलेको परिस्थिति निर्माणको सह–उत्पादक नै केपी ओली रहेको भन्दै यही कारणपनि झल्झली ओलीकै याद आउने ओलीकै बारेमा बोल्नुपर्ने भएको बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका बिरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शीता र भ्रष्ट्राचार बिरुद्धको शून्य सहनशिलतालाई प्राथमिकतामा राखेर काम गर्छु।’

मन्त्री झाँक्रीले इमानदार प्रयास गर्ने हो भने केही हुने र आफूले मन्त्री हुँदा सोही अनुसार पहलकदमी लिने विश्वास दिलाउनुभयो ।

 

सम्बन्धित खबरहरु