काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन भत्काउने उद्घोष गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जबरजस्ती एमसीसी पास गर्न खोजे गठबन्धन भत्किने उहाँको चेतावनी छ ।

पत्रकार ऋषी धमलाको कार्यक्रम जनता जान्न चाहान्छन् कार्यक्रममा नेता खनालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता त्रुटिपूर्ण भएकाले यसलाई जस्ताको तस्तै पास गर्न नहुने बताउनुभयो ।

तत्कालिन नेकपा नेतृत्वको सरकार हुँदा खनाल नै एमसीसी अध्ययन तथा सुझाव समितिको संयोजक हुनुहुन्थ्यो । उहाँको कमिटीले सरकारलाई एमसीसी जस्ताकोतस्तै पास गर्नै नहुने सुझाव दिएको थियो ।

‘गठबन्धनका धेरै कुराहरुमा समानता छन्, धेरै कुराहरुमा मत भिन्नता छन् ।’ उहाँले भन्नुभयो, ‘समानतालाई आत्मासात गर्दै अगाडि बढ्यो भने गठबन्धन टिक्छ । नत्र भने जुन सुकै समय, जनसुकै पल, जुनसुकै घडिमा गठबन्धन टुट्न सक्छ ।’

खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने पक्षमा नभएको बताउनुभयो । उहाँले सरकारका न्युनतम साझा कार्यक्रम भन्दा बाहिर गएर केही पनि काम नगर्ने स्पष्ट पार्नुभयो ।

फरक प्रसंगमा नेता खनालले ईलाम क्षेत्र नम्बर १ मा आफूलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्नुभयो । केपी शर्मा ओलीको हठ, जिद्दिपनलाई आफूहरुले सुधार गर्न नसकेको उहाँको भनाई छ ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले आफूहरु अन्तिमसम्मपनि एमालेको एकताकै पक्षमा रहेको पनि स्मरण गराउनुभयो ।

आफूले अस्पतालको बेडबाट पनि अब विद्रोह गर्नुपर्छ भनेर माधव नेपाललाई भनेको उहाँले बताउनुभयो । उहाँले आफूहरुले विद्रोह गरेको पनि जिकिर गर्नुभयो । हालै सम्पन्न नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनमा नेताहरुले बोल्नै नपाएको पनि उहाँको तर्क छ ।

उहाँले आफूहरुले पार्टी दर्ता गराएको एक महिनामात्रै भएको भएपनि लाखौं जनता आफूहरुको वरिपरी गोलबन्द भैसकेको बताउनुभयो । ओलीले दक्षिणपन्थी र अवसरवादी कार्यदिशा लिँदा अहिले एमाले भत्किएको उहाँको टिप्पणी छ ।

उहाँले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले एक सिट पनि जित्दैन भनेर भन्नु भनेको आत्मरतिमा रमाउनुबाहेक अरु केही पनि स्पष्ट पार्नुभयो । उहाँले ओलीको आत्मविश्वास समाप्त भैसकेको र आफ्नै निर्वाचन क्षेत्रमा पनि अब पराजित हुने ठोकुवा गर्नुभयो ।

 

सम्बन्धित खबरहरु