धनगढी । सुदुरपश्चिमको ठूलो नदी कर्णाली नदीले खतराको सतह नाघेको छ । लगातारको बर्षासँगै आएको भीषण बाढी बस्तिमा पस्ने खतरा बढेको छ ।

चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा पानीको सतह खतराको तह पार गरेर ११ मिटर पुुगेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ ।

लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको बताउँदै सूचना अधिकारी जोशीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभएको छ ।

उहाँले प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको समेत जानकारी दिनुभयो । अझै ठूलो आपत पर्नसक्ने भन्दै सेना र प्रहरीलाई उच्च तयारीमा रहन भनिएको छ ।

तटीय क्षेत्र र डुवान हुने क्षेत्रहरुका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ जान र अति निगरानी र सर्तकताका साथ बस्न अपिल गरिएको छ ।

 

सम्बन्धित खबरहरु