काठमाडौ । आगामी मंसिर महिनामा हुने नेकपा एमालेको महाधिवेशनमा प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र योग्य हुने योग्यता तोकिएको छ ।

पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि चुनिनका लागि १० वर्षको योग्यता तोकेको हो । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा भने ७ वर्ष पार्टी सदस्य भए पुग्ने नयाँ विधानमा उल्लेख छ ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित व्यक्तिहरु अर्को महाधिवेशन नभएसम्म महाधिवेशन प्रतिनिधि परिषद सदस्यको हैसियतमा रहने विधानमा उल्लेख छ । दुई महाधिवेशनको बीचमा परिषद्को बैठक बस्नेछ ।

एमालेको विधानको धारा ६३ मा उम्मेदवार हुने योग्यता तोकिएको छ । त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यो नहुनेको हकमा प्रदेश कमिटी सदस्य वा केन्द्रीय विभागको सदस्य तथा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको व्यक्ति पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्नेछ ।

तर समावेशी कोटाबाट भने एक कार्यकाल जिल्ला कमिटी वा सो भन्दा माथिल्लो कमिटीको सदस्य भ ई काम गरेको र सात वर्ष पार्टी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्नेछ । केन्द्रीय कमिटीको पदाधिकारी बन्नका लागि कम्तिमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनपर्नेछ ।

एमालेले पालिका वा सो भन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था विधानमा गरेको छ ।

सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा लगाइएको छ । तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित भएको पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने विधानमा उल्लेख छ ।

यसका साथै एमालेबाट निर्वाचित सबै तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दुई महिनाभित्र पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्ने र पद सकिनुभन्दा २ महिनाअघि सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने प्रावधान समेत विधानमा राखिएको छ । विधानको पूर्णपाठ पढ्न क्लिक गर्नुहोस् ।  Click Here 

 

सम्बन्धित खबरहरु