पाल्पा । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अझै सर्‍यो प्रतिनिधिसभाको बैठक

आगामी कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन पर सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कार्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि बैठक सारेका सूचना टाँस गराउनुभएको छ ।

मंगलबार एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कार्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कार्तिक ११ गते बिहिबार दिनको २ बजे बैठक बस्ने गरी बैठक निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाउनुभएको छ ।

नवौं अधिवेशन अन्तरगत गत भदौ २३ गतेदेखि सुरु यो अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

आफ्नो दलले कारवाही गरेका १४ सांसदलाई जोगाएर पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो । एमाले र सभामुख बीचको यो विवादको छिनोफानोका लागि अहिलेसम्म कुनै छलफल सहमति हुन सकेको छैन ।

सम्बन्धित खबरहरु