रमेश केसी/रासस, बझाङ। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ ।

नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ ।

नदीको वहाब बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, सङ्कलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिँड्ने काम नगरी उच्च सर्तकता अपनाउन पनि स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको वहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीयवासी निरनराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेती र बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ । ‘

बहुलीगाडले बेला(बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।

बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन गरेपछि सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन निर्माण गरिएको छ । लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ ।

त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ, भने एक घर जोखिममा छ । बाहुली खोला किनारमा रहेका बङ्गुर र कुखुराका खोर बगाएको छ ।

सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।

सञ्चार सम्पर्क विच्छेद हुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिनुभयो ।

विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूणर् रुपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

यसैगरी सौर्य ऊर्जामा आधारित बझाङका टेलिफोन टावरमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको वर्षाले जिल्लामा बाढीपहिरोको जोखिम रहेको र केही भइहाले पनि अत्यावश्यक कामका लागि खबर गर्न नेटवर्क नहुँदा निकै सास्ती भएको खप्तडछान्ना गाउँपालिका–४ का ईश्वर रोकायाले बताउनुभयो ।

नेपाल टेलिकम जिल्ला शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिफोनका टावरमा विद्युत् सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताउनुभयो । सौर्य ऊर्जाको भरमा सञ्चालित बझाङका एफएम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ ।

जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेशनमा सौर्य ऊर्जा जडान गरिएको छ । रिले स्टेशनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सूचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामुदायिक रेडियोको कामनै समयमै आम स्रोतालाई सूचना दिएर सर्तक बनाउनु हो । सबै रेडियोले सदरमुकाम भन्दा टाढाका डाँडामा रिले टावर राखेर सञ्चालन गरिरहेका छौं । दुई दिन घाम नलाग्दा सोलार चार्ज हुन नपाएर विपद्को बेला सूचना प्रवाह गर्न सकिएन ।’

आइतबार साँझदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन् । प्रादेशिक विद्युत् प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको छ । हावाहुरी तथा अविरल वर्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

 

सम्बन्धित खबरहरु