विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर महानगरपालिका डुवानमा परेको छ । वर्षाका कारण विराटनगरका १९ वडा वडा जलमग्न भएको हो ।

केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् ।

विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न छन् । १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो ।

मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । उहाँका अनुसार बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ ।

विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला किनारका बस्तीमा बाढी पसेको उहाँको भनाई छ ।

केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेको छ । बाढी पसेपछि अहिले त्यहाँ मान्छे डुब्ने डुवान भएको छ । त्यहाँ अहिले सबै उडान रद्द भएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ ।

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था छैन ।

बाढी पसेपछि बुद्ध र यती एअरले सूचना जारी गर्दै काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् ।

विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको दुई वटा विमान पार्किङ एरियामा रोकिएका छन् । विमान मंगलबार विराटनगर आएका थिए । बाढी पसेपछि विमान उड्नसक्ने अवस्था छैन । २०७४ साल साउनमा आएको बाढीबाट पनि विमानस्थल डुबानमा परेको थियो । अहिले फेरी त्यही दोहोरिएको छ ।

 

सम्बन्धित खबरहरु