काठमाडौ । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खोल्ने तयारी गरेको छ ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ ।

प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ ।

कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।

यसअघि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।

लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन्। नियमित शैलीमा परीक्षा लिइरहेका छन् ।

प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमचा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिइनेछ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउनेछन् ।

‘विगतमा जसरी ‘भिजिटिङ मिति’ तोकेर असीमित आवेदन लिदैँनौं,’ उहाँले भन्नुभयो,’पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहनुभएकाले उहाँहरुलाई प्राथमिकता दिन्छौं ।’

 

सम्बन्धित खबरहरु