काठमाडौ । कैलाली, टिकापुर नगरपालिका-५ साईपुरस्थित कर्णाली नदीबाट र टिकापुर नगरपालिका-८ कालाकुण्डा एरीया हुँदै बग्ने मोहना नदीबाट बुधबार बिहान आएको बाढीका कारण कालाकुण्डाको चौगुर्दी र अर्नाफाँटा गाउँका ८० घर डुबानमा परेका छन् ।

उक्त स्थानमा तत्काल प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले ४० जनालाई सोही ठाउँस्थित कालीका माबिमा स्थानान्तरण गरेको छ भने अन्य मानिसहरुलाई आफन्तको घरमा सुरक्षति राखिएको छ ।

यसैगरी कैलाली, कैलारी गाउँपालिका-३ स्थित खल्ला कटानमा बसोबास गर्दै आएका करिब २५ घर परिवारको बस्तीमा मंगलबार साँझ मोहना नदीको बाढी आई जमीन कटान गरेको छ ।

ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्शाह र सोही नगरपालिका-१२ कालागौडी बस्ने कैलाश भट्ट लगायत २४ जनाको खेतबारीमा काटेर राखेको धानबाली भगवती सामुदायिक वनबाट निस्किने नालाको पानीले मंगलबार बिहान बगाउँदा करिब ५ लाख २२ हजार रूपैयाँ बराबरको धानबाली नष्ट भएको छ ।

झापा, गौरीगंज गाउँपालिका-१ जोडा होकलबाडी बस्तिमा मंगलबार दिउँसो माइखोलाबाट आएको बाढीले करिब ४० घर डुवानमा परेका छन् । उक्त स्थानमा तत्काल प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

यसैगरी झापा, गौरीगंज गाउँपालिका-२ भाकुरमारीमा माईखोलाको पानीको बहावले कटान गरी बाढी बुधबार बिहान पस्दा भाकुरमारी बस्ने गौरी संग ताजपुरिया लगायत २७ जनाको घर डुबानमा परेको छ । उक्त स्थानमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

धनकुटा, सागुरीगढी गाउँपालिका-७ घण्टे फेदीस्थित कोशी लोक राजमार्गमा अविरल वर्षाको कारण मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कालिकोट, तिलागुफा नगरपालिका-४ राचुलीस्थित कर्णाली राजमार्गमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ । यसैगरी कालिकोट, खाँडाचक्र नगरपालिका-७ सिमखेतस्थित कर्णाली राजमार्गमा मंगलबार पहिरो जाँदा सडक अवरोध भएको छ । उक्त स्थानमा तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

संखुवासभा, चैनपुर नगरपालिका-११ स्थित सभाखोला-लेगुवा सडकमा सानो अक्करको भिरबाट मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

अस्थाई प्रहरी पोष्ट सभाखोला समेतबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । साथै उक्त स्थानमा को।१ क ३५३५ नम्बरको जेसिवीले पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगा झरी लाग्दा चालक बस्ने बायाँ साईडको सिसा फुटेको र जेसिवी चालक समेत समान्य घाइते भएका छन् ।

यसैगरी संखुवासभा, धर्मदेबी नगरपालिका-३ गिदेनि खोलास्थित कोशी राजमार्गमा अविरल वर्षाको कारण मंगलबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरी चौकी टुटेदेउरालीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

अर्घाखाँची, अविरल वर्षाको कारण बाँगीखोलामा बाढी आई पानीको भल बजार एरिया चुत्राबेशी, भक्तिटोला आसपास खोला किनारको घरहरूमा बुधबार बिहान पसेको छ । नेपाली सेना, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सशस्त्र प्रहरी बलसमेतबाट तत्काल खटिएको सुरक्षाकर्मीले आवश्यक उद्दार कार्य गरिरहेको छ । क्षतिको बिवरण हाल खुलेको छैन ।

 

सम्बन्धित खबरहरु