काठमाडौं । युएई र ओमानमा भइरहेको आईसीसी टी–२० विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ । पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नुअघि नै सुपर १२ मा स्थान पक्का गरेको हो । लगातार दुई खेल हारेको नेदरल्याण्ड्स भने पहिलो चरणबाटै बाहिरिएको छ । यता आयरल्याण्ड र नामिबियाबीच भएको खेलमापनि नामिबियाले सनसनीपूर्ण जित निकाल्दै सुपर १२ मा स्थान पक्का गरेको छ ।

आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बेलब्रिनले सर्वाधिक ४१ र कर्टिस क्याम्परले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्याण्डलाई अलआउट गर्न श्रीलंकाका महिश थिक्शानाले ३ तथा चमिका करुणारत्ने र लहिरु कुरमाले दुई–दुई विकेट लिए । थिक्शानाले ४ ओभरमा १७ रन खर्चँदा लहिरुले २२ रन खर्चिए । वानिन्दु हसारंग दे शिल्भाले चार ओभरमा १२ रन मात्र खर्चेर एक विकेट लिए । दुशमन्थ चमिराले पनि एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो ।

८ रनमै तीन विकेट गुमाएको श्रीलंकाको इनिङ्स ओपनर पथुम निसाका र अलराउण्डर वानिन्दु हसरंगाले सम्हालेका थिए । चौथो विकेटका लागि यी दुईले १२३ रनको साझेदारी गरे । हसरंगाले ४७ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ७१ रन बनाए । निसाकाले ४७ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ६१ रन जोडे ।

कप्तान दसुन सनाकाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरी अविजित २१ रन बनाए । बलिङमा आयरल्याण्डका जोस लिटलले चार ओभरमा २४ रन खर्चेर ४ तथा मार्क एडेरले दुई विकेट लिए ।

यता डेभिड वाइजले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नामिबियाले आईसीसी टी–२० विश्वकपमा बुधबार ऐतिहासिक जित हात पारेको छ ।

पहिलो चरण अन्तर्गत समूह ए को खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्‍यो । टी–२० विश्वकपमा नामिबियाको यो पहिलो जित हो ।

दक्षिण अफ्रिकाबाट यसअघि टी–२० खेलिसकेका वाइजले अविजित ६६ रन बनाएपछि नामिबियाले १६५ रनको लक्ष्य ६ बल अगावै चार विकेट गुमाएर पूरा गर्‍यो । उनले ४० बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे । जेजे स्मिथ १४ रनमा अविजित रहे । कप्तान जेरार्ड एरासमसले ३२ रन जोडे ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेन, कोलिन अकरमन, टिम भान डेर गुटेन र कप्तान पिटर सिलारले समान एक–एक विकेट लिए ।

त्यसअघि आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले म्याक्स ओ डोडको अर्धशतक मद्दतमा चार विकेट गुमाएर १६४ रन बनाएको थियो । ओ डोडले ५६ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ७० रन बनाए । कोलिन अकरमनले ३५ रन बनाउँदा विकेटकिपर स्कट एडवार्ड्ले ११ बलमा अविजित ११ रन जोडे । नामिबियाका जान फ्राईलिंकले २ तथा डेभिड वाइजले एक विकेट लिए ।

पहिलो जितपछि नामिबियाले दुई खेलबाट दुई अंक जोडेको छ । नामिबिया पहिलो खेलमा श्रीलंकासंग पराजित भएको थियो । नेदरल्याण्ड्सको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्याण्ड्स आयरल्याण्डसंग पराजित भएको थियो ।

सम्बन्धित खबरहरु