काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नु भएको छ ।

शुक्रबार स्वीट्जरल्याण्डका राजदुत इलिजावेथ भोन केप्लरले सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा राजदुत केप्लरले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल–स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुई देशबीच नजिकबाट सहकार्य हुँदै आएको बताउनुभयो ।

राजदुत केप्लरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझ प्रगाढ बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुशी व्यक्त गर्नुभयो। कोभिड– १९ को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्बता समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु