काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको स्पष्ट पार्नुभएको छ ।

आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भन्नुभयो त्यो त्यति ठूलो कुरा हैन उहाँले पार्टीले दिएको जिम्मेवारी मैले पूरा गर्न सकिन भनेर राजीनामा दिनुभएको हो ।

‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यति ठूलो कुरा होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन’ उहाँले बताउनुभयो ।

शुक्रबार रावलले भने अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा गम्भीर नभएकाले सहजीकरण समितिबाट राजीनामा दिएको बताउनुभएको थियो । माधव नेपालले पार्टी विभाजन गर्दा उहाँहरुसँग नभएका एमाले नेताहरु १० बुँदे सहमति गरेर एमालेमै बस्नुभएको थियो ।

तर गत बुधबार एक कार्यक्रममा ओलीले अब १० बुँदेको एकतारे पनि धेरै बजाउनुको अर्थ नभएको भनी टिप्पणी गरेपछि रावल रुष्ट बन्नुभयो ।

ओलीको उक्त टिप्पणीप्रति नेताहरुले बिहीबार र शुक्रबार भएको स्थायी कमिटी बैठकमा आपत्ति जनाउनुभएको थियो । रावलले भने जिम्मेवारीबाट नै राजीनामा दिएको घोषणा गर्नुभयो ।

उहाँ पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीमा भने कायम हुनुहुन्छ । शनिबार पत्रकारको प्रश्नमा ओलीले १० बुँदे कार्यान्वयन गर्न केही ठाउँमा बाँकी रहेको भन्दै त्यो समेत छिट्टै हुने स्पष्ट पार्नुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु