काठमाडौ । प्रमुख प्रतिपक्षी दल अहिलेको संसदको अंकगणितमा ठूलो दल हो ।

भर्खरै सम्पन्न प्रथम विधान सभाबाट नयाँ विधान बनाए लगत्तै पार्टीको महाधिवेश समेत गर्दै सबैभन्दा ठूलो शक्तिको रुपमा आफूलाई उभ्याएको छ ।

नेपाली कांग्रेसले धेरै अघिदेखि वडा नगरस्तरको अधिवेशन गरेपनि जताततै विवाद नै विवाद छ । तर एमालेले भने अधिकांश स्थानमा सर्वसहमतिमा नेतृत्व चयन गरेको छ ।

नेकपा एमालेले शनिबार देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन शनिबार सकिएको जानकारी दिनुभयो ।

“करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उहाँले भन्नुभयो, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।”

वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् ।

गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । पालिका स्तरको अधिवेशन कात्तिक ९ गते हुँदैछ ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उहाँले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताउनुभयो ।

देशैभरिका वडा अधिवेशनको उद्घाटन पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो ।

एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

सम्बन्धित खबरहरु