बलेवा । विगत तीन वर्षदेखि श्रीमान विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएका बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा लुकाएपछि उनले जेठानीसँग भनेकी थिइन्, ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर लुकाएको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे ।

‘देवर भाउजूको शारीरिक सम्पर्कबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने’ भन्दै उनले गर्भपतन गराएर लुकाएको अनुमान प्रहरीको छ ।

‘दुई पटकसम्म शारीरिक सम्पर्क भएको हो, बाँकी के–के भयो थाहा भएन’, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, ‘सहमतिकै कुरा हो, जबर्जस्ती भएको होइन ।’

यही प्रमाणका आधारमा प्रहरीले कर्तव्य ज्यानको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । ती महिलाको घरबाट केही पर बच्चा जमिनमा लुकाएको अवस्थामा भेटिएको थियो ।

बच्चालाई रातो टालोमा बेरेर माटोमुनि लुकाएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । ‘दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ’, पल्लीमगरले भन्नुभयो, ‘अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।’

पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ। पक्राउ परेकी महिलाका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् ।

‘लामो समय श्रीमान विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण गलत सम्बन्ध रहेको पाइयो’, पल्लीमगरले बताउनुभयो । रासस

सम्बन्धित खबरहरु