काठमाडौ । नेपाली बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको मासिक तलब, भत्ता सुन्दा सबै अचम्वित हुन्छन् ।

बैंकका सीईओले बुझ्ने तलब, भत्ता र सुविधा तथा उनीभन्दा मुन्तिरका कर्मचारीले पाउने आर्थिक सुविधामा आकाश जमिनको फरक हुने गरेको छ ।

सानिमा बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको तलब भत्ता सुन्दा तपाई जो कोहीलाई अचम्म लाग्नेछ ।

सानिमा बैंकले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा उनले पौने दुई करोड रुपैयाँ तलब र सुविधावापत बुझेका देखियो ।

उहाँले बुझेको रकम एक करोड ८४ लाख १५ हजार रुपैयाँ हो । यो भनेको मासिक १५ लाख ३५ हजार रुपैयाँ हुन आउँछ ।

यसमा उहाँले उक्त वर्ष बुझेको झण्डै ५० लाख रुपैयाँ बराबरको बोनस समावेश छैन । त्योसमेत जोड्दा दाहालले मासिक रुपमा गत वर्ष १९ लाख ५० हजार त मासिक रुपैयाँ बुझेको देखिन आउँछ ।

त्यो बाहेक बैंकले महँगो दुई वटा सवारी साधन, चालक, पेट्रोल, टेलिफोन लगायतका खर्चसमेत व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष उहाँले १ करोड ४६ लाख तलबवापत बुझेका देखिन्छ ।

जुन वर्ष मुलुकमा कोरोनाले सर्वत्र तहस नहस बनायो त्यही बेला उहाँले झण्डै ७५ लाख रुपैयाँ बढी तलब, भत्ता र सुविधा बुझ्नु भएको देखिन्छ । यो बचतकर्ता र शेयरधनीको रकममा सोझो रजाई हो ।

उहाँले बढाएर लिएको तलबसँगै गत वर्ष बैंकर्स संघको अध्यक्षको नाताले केन्द्रीय बैंकसँग कोरोनाकालमा माग गरेको विशेष सुविधाको औचित्यको पुष्टि गर्नुपर्ने भएको छ ।

कोरोनाले बैंकिङ क्षेत्रमा असर पारेको भन्दै रोइलो गर्ने समूहको नेतृत्व दाहालले नै गर्नुभएको थियो । तर उहाँ आफै आफ्नो सेवा सुविधा बढाउन तल्लिन हुनुहुन्छ ।

राष्ट्र बैंकको निर्देशनबमोजिम सीईओले बुझ्ने सबै सुविधा र रकम बैंकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा अंकमा लेख्नुपर्छ । तर, दाहालको हकमा प्रतिवेदनमा उहाँले बुझेको लाखौं रुपैयाँ बराबरको बोनस उल्लेख गरिएको छैन ।

बोनस रकमा यसअघिका प्रतिवेदनमा समेत उल्लेख छैन । कतिपय अन्य बैंकले पनि त्यसै गरेको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालसम्म सोधनी समेत नगर्नुले उहाँहरुको मनोबल बढेको स्रोतको दाबी छ ।

 

सम्बन्धित खबरहरु