दार्चुला। नेपाली जनता अझै कस्ता छन् । राजनीतिक दलको विचारमा उनीहरु कति गोलबद्ध छन् भन्ने एक गतिलो उदाहरण दार्चुलाबाट आएको छ ।

केही दिन अघिमात्र दार्चुला कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना स्थानीय नेता हिजो एमालेको वडा सचिवमा चयन हुनुभयो ।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन हुनुभएको थियो । उहाँ त्यहाँ एक महिनापनि टिक्न सक्नुभएन ।

शनिबार ६ गते गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन हुनुभयो ।

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन हुनुभएको थियो । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भन्नुभयो तर उहाँले उता चयन भएर फुलमाला अबिर लगाइसक्नुभयो ।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले पुष्टी गरेको छ ।

यसले अबको निर्वाचनमा उता उता गरिरहने प्रवृती अझै कायम नै रहने देखिन्छ । जब जनता एउटा विचारमा बलियोगरी गोलबद्ध हुँदैनन् तबसम्म कुनैपनि दलले बहुमत ल्याउन सक्दैन । यस्तो अवस्थामा स्थिर सरकारको परिकल्पना गर्न सकिन्न ।

 

सम्बन्धित खबरहरु