काठमाडौ । प्रदेश १ को प्रदेशसभा बैठक हरेक क्षण रोचक बन्दै गएको छ ।

कहिले विश्वासको मतका लागि प्रस्ताव पेश नै राख्न नपाउने, कहिले राखेपछि मतदान रोक्न माग गर्नुपर्ने, अहिले त आज पक्ष प्रतिपक्ष दुबैले मतदानको कार्यसूची रहेको प्रदेशसभा बैठक रोक्न माग गरेर फेरी मुख्यमन्त्री भीम आचार्यको पद जोगिएको छ ।

अब कात्तिक १५ गतेसम्म ढुक्क भएको छ । स्थगित गरिएको बैठक अवधिमा थप चलखेल गर्न मिल्ने भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो ।

तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो ।

यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।

आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो । त्यसपछि पार्टी विभाजन भएर अल्पमतमा परेको ३५ दिन पूरा भइसकेको छ । दुई वा सो भन्दा बढी दलको समर्थमा बनेको सरकारले विश्वासको मत गुमाएको देखिएमा ३५ दिनभित्र विश्वासको मत प्राप्त गरिसकेको हुनुपर्नेछ ।

सम्बन्धित खबरहरु