काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नराम्रो झड्का लागेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पूर्ण बैठक (फुलकोर्ट) नै बहिस्कार गर्ने निर्णय लिनुभएको छ ।

नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको फुलकोर्टमा अरु न्यायाधीशहरु अनुपस्थित हुने निर्णय भएको हो ।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति भएको श्रोतले पुष्टी गरेको छ ।

‘हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्ने र वरिष्ठ अधिवक्ता उपाधी दिने भनी हामीहरुलाई एजेण्डा पठाइएको थियो, त्यसमा हाम्रो सहमति छैन’ एक न्यायाधीशले बताउनुभयो ।

‘सोमबारको बैठकमा हामी उपस्थित हुन सक्ने भएनौं उहाँले बताउनुभयो ।’ उहाँका अनुसार असन्तुष्ट न्यायाधीशबीच सोमबार विहानैदेखि छलफलमा जुट्ने सहमति भएको छ ।

न्यायाधीशहरु आज बिहानै देखि छुट्टै छलफलमा हुनुहुन्थ्यो । विवादित प्रधानन्यायाधीशले दिएको इजलास बस्ने कि बहिस्कार गर्ने भन्ने सम्मको विषयमा छलफल जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाउनुभएको छ ।

आजै बारका पदाधिकारीले समेत प्रधानन्यायाधीशको प्रस्तुतीमा सन्तुष्ट हुने ठाउँ नभएका कारण न्यायाधीशहरुसँग छलफल गरेर थप निर्णयमा पुग्ने धारणा तय गर्नुभएको छ ।

आजसम्म भने न्यायाधीशहरुले इजलास भने बहिस्कार नगर्ने सहमतिमा पुग्नुभएको छ । तर सोमबारका लागि डाकिएको पूर्ण बैठकमा सहभागी नहुने र आवश्यक परे थप छलफल गरेर निर्णय लिन एकमत हुनुभएको छ ।

‘हामी १४ जना न्यायाधीशहरु आज खाजा समयपछि छलफलमा व्यस्त भयौं । अहिलेको नेतृत्वबाट न्यायपालिकाको सुधार हुदैन भन्ने हाम्रो निष्कर्ष हो’ एक न्यायाधीशले भन्नुभयो, ‘विषयान्तर गर्न खोजिएको, मूल एजेण्डाबाट विमुख भएको निश्कर्ष निकालेर हामी बैठकमा सामेल नहुने भनेका हौं ।’

त्यसो भए राजीनामा नै तपाईहरुको माग हो भन्ने प्रश्नमा अब मुल विषय नै त्यही बनेको छ एक न्यायाधीशले बताउनुभयो ।

सम्बन्धित खबरहरु