झापा । आज जनताको मनमा बस्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निक्कै बेर आफ्ना बाबु मोहनप्रसाद ओली कै छेउमा बस्नुभयो ।

एक अर्काले स्पर्श गर्दै प्रेममय वातावरणमा कुराकानी गर्नुभयो । झापा नै बसोबास गरेपनि राम्रो हेरचाह गरिरहेकाले बाबु मोहनप्रसादको छोराप्रति कुनै गुनासो देखिएन ।

निक्कै बुढेशकाल लागिसकेको उहाँले बरु उल्टै छोराले गरेको देशप्रेम र देशप्रतिको लगावले आफू ज्यादै खुशी भएको भाव व्यक्त गर्नुभयो ।

बाबुका लागि भनेर काठमाडौंबाट विशेष कार्यक्रम लिएर गृहजिल्ला झापा पुग्नुभएका एमाले अध्यक्ष ओली चन्द्रगढी विमानस्थलबाट सीधै पृथ्वीनगर घर पुग्नुभयो ।

बाबुसँगै बसेर छरछिमेकसँग भेटघाट गर्नुभयो । आफ्नो बाल्यकाल र युवा अवस्थाका सम्झनाहरु कोट्याउनुभयो ।

भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा ९० वर्षीया बुबा मोहनप्रसाद ओलीलाई भेट्न उहाँ त्यहाँ पुग्नुभयो । ९० बर्षमापनि बुबा मोहनप्रसाद अझै निक्कै टाठो नै हुनुहुन्छ ।

बुबालाई भेट्न ओली पुग्दा कार्यकर्ता र समर्थकले पृथ्वीनगरस्थित मोहनप्रसादको घर घेरिसकेका थिए ।

केहीबेर बुबा र छोराबीच भलाकुसारी चल्यो । घरबाहिरै कुर्सीमा बाबु छोरा बसेर सन्चो बिसन्चोका कुरा गरेपछि ओली कार्यक्रमका लागि विर्तामोडतिर जानुभयो । छोरासँग कुरा गरेपछि मोहनप्रसादले अब चुनावपछि एमालेले एक्लै बहुमत ल्याउने ठोकुवा गरिदिनुभयो ।

छोरालाई आफूले आशीर्वाद दिएको भन्दै मोहनप्रसादले भन्नुभयो, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

केपी ओलीलाई षड्यन्त्र गरेर हटाए पनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै उहाँले आफ्नो आशीर्वाद सधैँ रहेको बताउनुभयो । दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने समेत उहाँको दावी छ ।

उहाँले आफूले सबैभन्दा बढी बुझेका कारण उसले यो देशका लागि केही गरेर नै छोड्ने आफ्नो विश्वास रहेको बताउनुभयो । ठोकुवा गरेर नै भन्छु हेर्नुहोला यो देशलाई केही नगरी केपी बस्दैन उहाँले दावी गर्नुभयो ।

सम्बन्धित खबरहरु