काठमाडौं । अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर अर्थात झण्डै ६० करोड नेपाली रुपैयाँ तोकेको ड्रक्स तस्कर समातिएका छन् ।

उनलाई कोलम्बियामा पक्राउ गरिएको हो । बीबीसीका अनुसार कोलम्बियाको सबैभन्दा कुख्यात तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका हुन् ।

ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो । कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो ।

अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै भन्नु भएको छ, ‘हाम्रो देशमा यो शताब्दीमा ड्रक्स तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता हो ।

यो गिरफ्तारी सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ ।’ ओटोनियल पानामाको सिमाना नजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन् । गिरफ्तारीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घटनामा एक प्रहरी मारिएको राष्ट्रपतिले जानकारी गराउनुभयो ।

कोलम्बियाको सशस्त्र सुरक्षा निकायले जारी गरेको एउटा तस्बिरमा हतकडी लगाएका ओटोनियललाई सैनिकहरूले सुरक्षा दिएको देखिन्छ । हालैका वर्षहरूमा ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन् ।

दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए । कोलम्बियाका सुरक्षा निकायले सो गिरोहलाई देशको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन बताएको थियो भने अमेरिकी निकायले यसलाई “सशस्त्र र अत्यन्त डरलाग्दा घटना गर्ने” समूहको रूपमा हेरेका थिए ।

कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गिरोह ड्रक्स र मानिसहरूको तस्करी, अवैध सुन उत्खनन र पैसा असुलीमा संलग्न रहेको प्रहरी बताउँछ ।

गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको मानिन्छ । यसका सदस्यहरू आर्जेन्टिना, ब्रजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढा रहेका देशहरूमा गिरफ्तार भएका छन् । सो गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म ड्रक्स तस्करीको लागि प्रयोग गरिने मार्गहरू नियन्त्रण गर्ने बताइन्छ ।

कोलम्बियाको सरकारले भने हालैका दिनहरूमा यसको सदस्यहरू कम गरेको र धेरैलाई जङ्गलमा लुक्न बाध्य बनाइएको दाबी गर्दै आएको छ । ओटोनियललाई अमेरिका ड्रक्स पठाएको, प्रहरी अधिकृतहरू मारिएको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ ।

सन् २००९ मा अमेरिकामा उनीलाई आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने संकेतहरु देखा परेका छन् ।

सम्बन्धित खबरहरु