काठमाडौं । जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सल्यानमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परी सल्यान, बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको हो ।

बिहान करिब ७ः५० बजे सल्यानको बागचौरबाट दाङतर्फ आइरहेको भे. १ च १८९० नम्बरको बोलेरो जीप राप्तीलोकमार्गको कपुरकोट ३ स्थित मूलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको बताउनुभयो ।

उहाँका अनुसार घाइतेहरु हुनेमा बागचौर नगरपालिका वडा न १ का निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज वस्नेत, बानपा २ का अन्दाजी २७ वर्षीय सीता वली, २८ वर्षीय बविता रावल र निजको ११ वर्षीय छोरी एसिका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षीय हिक्मत पुन मगर छन ।

बबिताको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै, बानपा २ कै १९ वर्षीय अर्जुन केसीको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

गाडी सडकबाट एक सय मिटरभन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु