खोटाङ । नेकपा एमाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारमा महिलाको वडा कमिटी बनेको छ । यो नेपाली राजनीतिमा पहिलो संयोग हो । जहाँ अध्यक्ष देखि सदस्य सबै महिला मात्र हुनुहुन्छ ।

यतिमात्र हैन प्रमुख अतिथी समेत महिलालाई नै बनाएर हामी सक्छौ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीको अन्त्य गर्दै यस वडामा महिलालाई अघि सारिएको अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज बिना देवी राईले जानकारी दिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपलिकाको उपप्रमुख समेत रहनुभएको राईलाई नै प्रमुख अतिथी बनाएर अभिवेशन गरिएको थियो । उहाँका अनुसार वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी बिकलाई चयन गरिएको छ ।

यसैगरी सदस्यमा समिता राइ, सर्मिला राई, यसोदा अधिकारी, कमला अधिकारी, यसोदा बिक, प्रेम कुमारी बिक, प्रमिला राई, मनु सरि राई, रमिता राई, शिबसरी राई, प्रभा राई, यामुना राई, सपना राई, पबिना राई, कल्पना राई, सर्मिला माझी, इन्दु कुमारी राई, साबित्रा बिक, अनुसा राई, गङ्गा कुमारी राइ चयन हुनुभएको छ । सो अधिवेशनको प्रमुख अतिथि पनि महिला नेतृ तथा उपमेयर बिना देवी राई हुनुहुन्थ्यो ।

‘महिलालाई अवसर दिनुहुँदैन, महिलाले केही गर्न सक्दैनन्’ भन्ने पुरुषवादी सोचको अन्त्यका लागि पार्टीको वडा कमिटीको ‘स्टेरिङ’ महिलालाई दिइएको उपप्रमुख राईले बताउनुभयो ।

‘महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ, अवसर दिनुपर्छ भन्ने सोच त छँदै छैन । यो पुरातन सोच त्याग्नुपर्छ, राईले भन्नुभयो, ‘हामीले इतिहास रच्ने प्रयास गरेका हौँ । महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण देखाउन खोजेका छौँ ।’

११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, दुर्छिम र धितुङको वडा अधिवेशन सोमवार हुने एमालेले जनाएको छ ।

विवादका कारण राजापानीको वडा अधिवेशन भने मंगलवार पालिका अधिवेशनकै दिन टुंग्याउने सहमति बनेको नगरपालिकाका एमाले नेता एवं युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले बताउनु भयो ।

दुईवटा नगरपालिका र आठवटा गाउँपालिका रहेको जिल्लाका ७९ वडामध्ये अधिकांश वडाको अधिवेशन सम्पन्न भइसकेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुइचुम्मा गाउँपालिका ५ सछितापोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ टेम्मा, रावाबेँसी गाउँपालिका ६ हौँचुरको वडा अधिवेशन ८ कात्तिकमा हुने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । स्थानीय शिक्षिका मृत फेला परेपछि हौँचुरमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको हो ।

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका दुई हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदै छन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसहित सदस्य चयन गरिरहेको छ ।

सम्बन्धित खबरहरु