काठमाडौ । नेकपा एमालेको सम्पन्न वडा अधिवेशनबाट आएको परिणामले एमाले युवाहरुको पहिलो रोजाईमा परेको प्रमाणित भएको छ ।

अधिकांश वडाहरुमा युवाहरुले नेतृत्व पाउनुभएको छ । यही क्रममा अहिले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा निर्वाचित सचिव सामाजिक सञ्जालभरी चर्चामा हुनुहुन्छ । मात्र १९ वर्षीया युवती वडा सचिव बन्न सफल हुनुभएको भन्दै सर्वत्र चर्चा भइरहेको छ ।

एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन हुनुभएको हो ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएसँगै युवाहरुमा नेतृत्व गएको छ ।

रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताउनुभयो ।

सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनबोलीलाई जानकारी दिनुभयो ।

नेकपा एमालेले आफ्नो दसौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ। तर बेमौसमी वर्षापछिको बाढी, पहिरोका कारण देशका सबै वडामा अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ।

एमालेका अनुसार शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका छन्। रोकिएका वडामापनि भइरहेको छ । ९ गते एमालेको पालिका कमिटीको अधिवेशन हुँदैछ ।

 

सम्बन्धित खबरहरु