काठमाडौ । रुपन्देहीको भैरहवामा नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित ‘विराट धर्म सभा’ आयोजना गरिएको छ ।

नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताउनुभयो । यसका लागि विश्वभरीका ठूला सनातन धर्मगुरुहरु सभामा आउनुभएको छ ।

सभामा एक सयभन्दा धेरै धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने उहाँले जानकारी दिनुभयो ।

आज र भोलि दुई दिनसम्म चल्ने सभामा विश्व ओमकार एकता महाअभियानको आयोजनामा नेपाल र भारतका धर्मगुरुहरु भेला भइसक्नुभएको छ ।

सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन भारतीय हिन्दु धर्मगुरु समेत आइतबार साँझ भैरहवा आइपुग्नुभएको छ ।

स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले धर्मसभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकालिएको जानकारी दिनुभयो ।

महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु भएको धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरु सहित हजारौंको सहभागिता रहने छ ।

सम्बन्धित खबरहरु