काठमाडौ । निर्वाचन आयोगका पदाधिकारीहरुले चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्ने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको चासोमा उहाँहरुले स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने संवैधानिक बाध्यात्मक अवस्था रहेको स्पष्ट पार्नुभएको हो ।

सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्छ । संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि छैन । स्थानीय तह पदाधिकारीविहीन राख्न पनि मिल्दैन,’ आयोगका एक पदाधिकारीले भन्नुभयो, ‘हामी देशभर एकै चरणमा, एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार छौं ।’

प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको जोड थियो । ‘तीनै तहको निर्वाचन एकै पटक गर्ने, अर्ली इलेक्सन जस्ता बाहिर भएका चर्चातर्फ संकेत गर्दै हामीले संविधानमा त्यस्तो कुनै व्यवस्था छैन भनेर स्मरण गराएका छौं,’ छलफलमा सहभागी एक आयुक्तले बताउनुभयो ।

आयोग पदाधिकारीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि देशभर एकै पटक गर्न सकिने बताउनुभयो ।

सम्बन्धित खबरहरु