काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहालले सानो राष्ट्रको जमिन ठूलोकोमा पर्‍यो भने हालत खराब हुने बताउनुभएको छ ।

उहाँले ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्‍न नहुने बताउनुभएको हो । उहाँले सानो राष्ट्रको जमिन ठूलो राष्ट्रले मिचेमा दुई मुलुकबीच समस्या उत्पन्न हुन्छ नै ती देशको सत्तामा रहेकाहरुले बुझ्नुपर्ने बताउनुभयो ।

दाहालले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा दाहालले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा दाहालले भौगोलिक रूपमा ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्न नहुने बताउनुभयो । उहाँले ठूलो राष्ट्रको जमिन पनि धेरै छ । जनसंख्या पनि धेरै छ ।

ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै–थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन । सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।

उहाँले राष्ट्रको जमिनलाई खेतीको जमिन जसरी तुलना गर्नुभएको थियो । यो तुलना भने गलत थियो । राष्ट्र ठूलो होस् वा सानो जो कोहीको सार्वभौमिकताको सम्मान गर्नुपर्छ । कसैलेपनि सिमाना मिच्न पाइन्न ।

यद्यपी भारतीय नेतृत्वले नेपालको जमिन मिच्न नहुने कुरा बुझ्नुपर्ने दाहालको भनाइ थियो । उहाँले भन्नुभयो यो संवेदनशीलतालाई पनि भारतीय नेतृत्वले, भारतीय बुद्धिजिवीहरूले गहिरो गरी समीक्षा गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।

सिमानाका जे–जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।

नेपाल र भारतबीच इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र, जनता जनताको सम्बन्धले जोडेको दाहालको भनाइ थियो । त्यसलाई दुवै मुलुकको नेतृत्व मिलेर एक अर्काको संवेदनशीलतालाई ध्यान दिएर सकरात्मक र रचनात्मक ढंगले समाधान गर्दै अगाडि जानुपर्ने उहाँको जोड थियो ।

दाहालले भारतले नेपालको राष्ट्रिय चासोमा बाधा नभई सहयोग पुर्‍याएमा राम्रो मित्रता हुने स्पष्ट पार्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्‌मा सम्बोधन गर्दै नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्दा ताली बजेको पनि दाहालले स्मरण गर्नुभयो ।

सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्र हो । उहिले नि थियो, अहिले नि छ र भोली नि हुन्छ, यो कुराको हिसाबचाहिँ अलि राम्रोसँग भारतले गर्नुपर्छ उहाँले भन्नुभयो ।

दाहालले भारतले बुद्ध भारतमा जन्मिएको भनेर तथ्य बंग्याउन नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो बुद्ध भारतमा जन्मिएका हुन् भन्दा राम्रो लाग्दैन गौतम बुद्धले बुद्धत्व भारतमा पाएको भएपनि नेपालमा जन्मिएको कुरालाई बंग्याउन पाइदैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु