विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पनि पक्षधरता नलिने एमालेको स्पष्ट लाइन रहेको बताउनुभएको छ ।

सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका बेला त्यो झुण्डमा एमाले सहभागी नहुने बताउनुभयो । यस विषयमा सत्ता पक्षका नेताहरु भने
झनै मौन छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो विवादमा कसैको पनि पक्षधरता नलिने निर्णय लिने बेला आएमा जनताको भावना अनुसार स्वविवेकीय अधिकार प्रयोग गर्ने बताउनुभयो ।

सोमबार प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको विषयपनि तत्काल नभएको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने पत्रकारको प्रश्नमा उहाँले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताउनुभयो ।

‘अहिले जुन राजनीति सर्वोच्चको नाममा भइरहेको छ त्यस प्रकारको होइन । हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भन्नुभयो, ‘हामीलाई दाउपेचमा पस्नु छैन, सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’ उहाँले अदालत स्वतन्त्र रहनुपर्ने स्पष्ट पार्नुभयो ।

‘राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, उहाँले भन्नुभयो,‘ हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’

प्रधानन्यायाधीश जबरालाई संवैधानिक अंगहरूमा भागबण्डा गरेर न्यायालयमा सेटिङ गरेको आरोप ओली माथि पनि छ । प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने भन्ने प्रश्नमा उहाँले स्पष्ट जवाफ नदिई अदालत संविधानअनुसार चल्नुपर्ने बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु