काठमाडौं । गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ ।

अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।

त्यहाँ तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।

अफगानिस्तानको यतिसम्म संकट उत्पन्न भएको छ कि अभावले ग्रस्त परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । बीबीसीको एउटा रिपोर्टका अनुसार भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बिक्री गरेकी छिन् ।

उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेकी हुन् । सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दुःखी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’

उनका श्रीमान् कबाडी संकलनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं । हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’

भोक टार्न यस्तो छ योजना
झण्डै ५ दशक लामो लडाईँ बाट शान्तिको मार्गमा फर्किन खोजेको अफगानिस्तानमा नयाँ संकट देखा परेको छ । अफगानिस्तानमा भोकमरी समस्या बढ्न थालेको हो ।

भोकमरीजस्तो गम्भीर संकटसँग जुध्न तालिबानले नयाँ स्किम जारी गरेको छ । तालिबान सरकारले ‘खानाका लागि काम’ स्किम ल्याएको हो । जानकारी अनुसार अब अफगानिस्तानमा कामको बदलामा पैसा नभई अन्न दिइनेछ ।

केहि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसरा अब त्यहाँ काम गरेवापत ज्यालाका रूपमा गहुँ दिने गरिएको छ । यसको जानकारी तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिद आइतबार दक्षिणी काबुलमा भए साक्षात्कारमा दिएका हुन् ।

मुजाहिदका अनुसार अफगानिस्तानका सबै ठूला शहरहरुमा यो योजना लागु हुन्छ । उनका अनुसार राजधानी काबुलमा मात्रै ४० हजार मानिसहरुले रोजगार पाउने छन् । प्रवत्ता मुजाहिदले बेरोजगारी समस्या समाधानका लागि यो योजना ठूलो हतियार साबित हुने विश्वास लिएका छन् ।

तर त्यस योजनाको लाभ उठाउनका लागि काम गर्नु पर्नेछ । लडाईँका कारण अफगानिस्तान पहिलेदेखि नै गरीबी, सुख्खा, बेरोजगारी, भोकमरी, बिजुली अभावसहित धेरै खालका समस्याहरुसँग लड्दैछ ।

तालिबान सरकारलाई विश्वले मान्यता नदिएपछि आजका दिनमा आर्थिक संकट पनि अफगानिस्तानको गम्भीर समस्या हो । खानका लागि काम योजनाको लाभ पहिलेदेखि काम गरिरहेकाहरुले पाउने छैनन् ।

यसको लाभ ति व्यक्तिहरुले लिन सक्छन्, जो बेरोजगार र भोकमरीजस्तो समस्याबाट ग्रस्त छन् । योजनानुसार काबुलमा ११ हजार ६०० टन गहुँ बाड्ने तयारी छ । जबकि हेरात, जलालाबाद, कान्धार, मजार ए शरीफ र पुल–ए–खुमरीमा ५५ हजार टन गहुँ वितरण गरिनेछ ।

ति मजदुरहरुले काबुलमा पानीको समस्यासँग लड्न एक केनाल बनाउने छन् । तालिबान सरकारका कृषिमन्त्री अब्दुल रहमान रशीद र काबुलका मेयर हमदुल्लाह नोमानी ने गुलाबी रिबन काटेर योजनाको उद्घाटन गरेका हुन् ।

 

सम्बन्धित खबरहरु