काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको विवाद सम्बन्धमा लामो समयको मौनता तोड्नुभएको छ ।

उहाँले उक्त विषयमा आफ्नो धारणा राख्नुभएको हो । यस बारे बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धनले एक–दुई दिनमा मात्र यसबारे धारणा बनाउने बताउनुभयो ।

मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा चर्चासमेत नभएको स्पष्ट पार्नुभयो ।

न्यायालयमा देखिएको विवादका सम्बन्धमा गठबन्धनका तीन दल बसेर सामान्य कुरा त भयो। पाँचै दल बसेका छैनौं, उहाँले भन्नुभयो एक–दुई दिनमा हामी बसेर धारणा बनाउँछौं।

अध्यक्ष प्रचण्डले न्यायालयको स्वतन्त्रतामा कहिँ कतैबाट आँच नआओस् भनेर सबै सतर्क बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेसको कोटाबाट मन्त्री बनेका व्यक्तिको विषयमा विवाद बढेपछि मैले यही ठाउँमा आएर यस विषयमा बोलेको थिएँ। उहाँले राजीनामा पनि दिनुभयो तर त्यहाँबाट बढेको विवाद चर्किएको छ, उहाँले भन्नुभयो हामी के कुरामा दृढ छौं भने राज्यका महत्वपूर्ण अंगहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैले आफ्नो स्वतन्त्रता र गरिमाको ख्याल राख्नुपर्छ।

प्रचण्डले नेकपा एमालेले चितवनमा महाधिवेशन आयोजना गरेर आफूलाई ठूलो महत्व दिएको बताउनुभयो । म त चितवनमा एमालेले महाधिवेशन गर्न लागेकोमा खुसी छु, उहाँले भन्नुभयो, बुटवलमा गर्ने भनेको महाधिवेशन मलाई नै महत्व दिएर चितवनमा गरिँदैछ। यो त खुसीको कुरो भयो।

एमालेले चितवनमा महाधिवेशन गर्न खोजेर आफूलाई विजयी गराउने कुराको सुरुआत गरेको प्रचण्डको भनाइ थियो । उहाँले यसो भनिरहँदा आगामी चुनावमा उहाँलाई एमालेदेखि डर रहेको स्पष्ट हुन्थ्यो ।

सम्बन्धित खबरहरु