काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई लिएर मुख खोल्नु भएको छ । उहाँका अनुसार महाअभियोग लगाउने विषयमा गठबन्धनभित्र छलफल भएको छैन ।

चितवनको भरतपुर विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महाअभियोगका बारेमा छलफल नभएको स्पष्ट पार्नुभएको हो । उहाँले सत्ता गठबन्धनका सबै दलबीच छलफल गरेर समस्याको निकास निकाल्ने बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा उहाँले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले एक–दुई दिन भित्रमै समस्या सल्टिने दाबी पनि गर्नुभयो ।

प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र त्यो प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरू पूर्ण बैठकमा नगएपछि बैठक बस्न सकेको थिएन । आज फेरि प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल हुनेछ ।

सम्बन्धित खबरहरु