काठमाडौं । बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउने पक्का भएको छ । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।

आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी उहाँले गर्नुभएको जानकारी दिइएको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बन्नु भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डेले मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्नुभएको थियो ।

नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजो नै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । उहाँले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

जानकारी अनुसार कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने लाइनमा हुनुहुन्छ ।

सम्बन्धित खबरहरु