काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई संकट पर्ने निश्चित प्रायः बनेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सातादेखि सर्वोच्चअदालतमा बेन्च बस्न नसक्दा निमुखाले न्याय नपाउने अवस्था आएको भन्दै न्यायालयको नेतृत्वले निकास दिनुपर्ने बताउनुभएको छ ।

आफै नेतृत्वले निकास नदिए राजनीतिक दलहरुले निकास दिने कांग्रेसको क्लियर भिजन रहेको उहाँको भनाई छ । यसले सत्तारुढ दल नै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने रणनीतिमा रहेको प्रष्ट भएको छ ।

अदालतको गरिमा र स्वच्छतालाई बचाउन इजलासबाटै भएको अवज्ञा अब न्यायालयको मात्रै नभई आम जनताको विषय बनेको भन्दै स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको वकालत गर्ने दलहरुले अबको निकास खोज्नुपर्ने पौडेलको भनाइ छ ।

‘न्यायालयभित्रको विषय अब जनताको विषय बनेको छ । मन फाँटेका सँग बसेर न्यायालय अब कसरी चल्छ ? एउटा पूर्व, अर्को पश्चिमतिर फर्केर बस्ने अवस्थाको अन्त्य कसरी गर्ने ? ख्यालखाल गर्दागर्दै आज न्यायालय यो अवस्थामा आइपुग्नु दुःखद छ,’ उहाँले भन्नुभयो ।

‘अब न्यायालयको नेतृत्वले निकास दिनुपर्छ । हामी दलहरु आपसमा बाझाबाझ गर्दा निकास दिन नसकेर अदालतले निकास दिन परेको थियो, अहिले अदालत अप्ठ्यारोमा पर्दा राजनीतिक दलहरुले आँट गरेर निकास दिन सक्नुपर्छ ।’

पौडेलले अप्रत्यक्ष रुपमा प्रधानन्यायाधीश जबराले निकास दिएर न्यायालय बचाउन र आम जनताको न्याय मर्न नदिने आग्रह गर्नुभायो । यता कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलसँग छलफल गरेर अदालतको विषयमा साझा धारणा ल्याउने बताउनुभएको छ ।

पार्टीका नेता तथा सांसदहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयभित्रको समस्या त्यहीँको नेतृत्वले मिलाउनु पर्ने, मिलाउन नसके बाटो छाड्न उचित हुने भनाइ राख्दै आउनुभएको छ यसो हेर्दा अब प्रधानन्यायाधीशले यो विषय मिलाउन नसक्ने देखिन्छ ।

अब सर्वोच्चको फैसला दलहरुले गर्ने देखिन्छ । हिजो दलहरुको फैसला गरेको अदालतमा रहेका न्यायाधीशहरुलाई महाअभियोग लगाएर अब अदालतको फैसला दलहरुले गर्ने भएका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु