काठमाडौं । प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ ।

यता बैठक एकदिनपनि बस्न नसकेपछि सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । सभामुख अग्नीप्रसाद सापकोटाले एकैपटक प्रतिनिधि सभा २९ गतेसम्मका स्थगित गरेपछि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्ने एक मन्त्रीले बताउनुभयो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पनि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको जानकारीमा रहेको बताएको छ । ‘बुधबारसम्मको सल्लाह अनुसार आजको मन्त्रिपरिषद् बैठकमा अधिवेशन अन्त्यको प्रस्ताव मन्त्रिपरिषदमा जान्छ,’ मन्त्रालयका एक अधिकारीले भन्नुभयो, ‘आज केही भएर प्रस्ताव नजान पनि सक्छ वा प्रस्ताव गए पनि निर्णय हुन्छ हुँदैन वा त्यो मन्त्रालयले भन्न सकिदैन तर सरकारले जारी अधिवेशन अन्त्य गर्ने मनासय राखेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले पछिल्लो समय सभामुख अग्नि प्रसाद सापकोटालाई निरन्तर भेटिरहनुभएको छ । पछिल्लो समय मंगलबार र बुधबार सभामुखसँग भेट्नुभएका कानुनमन्त्री बडुले सरकारले अधिवेशन अन्त्यको तयारी गरेको जानकारी गराएको उहाँको सचिवालयले पुष्टी गरेको छ । मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ । सरकारको सिफरिसमा संसदको अधिवेशन शुरुवात गर्ने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबरहरु