काठमाडौं । विश्वभर चर्चित फेसबुक अब नरहने भएको छ । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएपछि यस्तो अवस्था आएको हो ।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ ।

याद रहोस्, यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन । माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो ।

फेसबुकका एक पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो ।

ती पूर्व कर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले ‘सुरक्षाभन्दा माथि नाफा’ राखेको आरोप लगाएकी छन् । सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।

फेसबुकका संस्थापक एवं प्रमुख मार्क जकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । उनका अनुसार मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन् ।

उनले अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताए । घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘समयसँगै, मलाई आशा छ कि हामीलाई मेटाभर्स कम्पनीका रुपमा हेरिन्छ ।

आगामी दिनमा हामी के बनाउँदै छौं भन्ने हाम्रो काम र पहिचानबारे म भन्न चाहन्छु।’ कम्पनीले बिहीवार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ । जकरबर्गले भने, ‘हामी अहिले हाम्रो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेका छौं ।

एउटा हाम्रो एपहरूको लागि र अर्को भावी प्लेटफर्ममा हामीले काम गर्न खोजिरहेका छौं । र, यसका लागि हामीले के गर्ने आशा गरेका छौं र अहिले के गरिरहेका छौं भन्ने सबै कामलाई समेट्ने कम्पनीको नयाँ नाम राख्ने समय भएको छ ।’

तपाईलाई जानकारी गराउ कि यसअघि बुढी औँला माथितिर फर्किएको लाइक लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ ।

जकरबर्गले नयाँ नामले समयसँगै प्रयोगकर्ताले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु नपर्ने बताएका छन् । बाहिरका मानिसका लागि मेटाभर्स भीआरकै एउटा संस्करण जस्तो लाग्न सक्छ तर केही मानिसहरू भने यसलाई इन्टरनेटको भविष्य हुनसक्ने विश्वास गर्छन् ।

कम्प्युटरमा हुनुको सट्टा मेटाभर्समा हुने मानिसहरूले हेडसेटको प्रयोग गरेर भर्चुअल दुनियाँमा प्रवेश गर्ने र त्यसले डिजिटल वातावरणसँग जोड्न सक्नेछ । भर्चुअल दुनियाँले व्यवहारिक रूपमा काम, खेल र कन्सर्टदेखि परिवार साथीभाइसँग जोड्नेलगायत सबै गर्न सक्ने आशा गरिएको छ । बीबीसी

सम्बन्धित खबरहरु