काठमाडौं । राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको छ । प्रधानमन्त्री देउवा शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा गएका कारण मन्त्री खाँडलाई जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी,सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गर्नुभयो ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । उहाँले वल्र्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन साँझ उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु