बिराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको दावी गर्नुभएको छ ।

साथै अब आउने चुनावमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने दाबी गर्नुभयो ।

शनिबार बिराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज केपी ओली भुईँमा पुगेका छन् । एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ ।’ फिस्स हाँस्नुभयो ।

एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ डिग्री स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको उहाँले बताउनुभयो ।

सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएको उहाँको दाबी छ । एमालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उहाँको दावी छ ।

अहिले भर्खर बागमतीमा पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।’

सम्बन्धित खबरहरु